काठमाडौं। त्सेछेन शेडुप लिङ साक्य थारिग गोन्पाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गोन्पाका गुरुहरू छिरिङ तेन्दु गुरुङ, नुर्बु गुरुङ र धावा लामाको पहलमा उक्त सहयोग रकम उपलब्ध गराइएको हो।
प्रतिनिधिसभा सदस्य राम लामाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको जनाइएको छ।
सहयोग हस्तान्तरणका क्रममा मन्त्री पौडेलले विपद्का बेला मातृभूमिप्रतिको जिम्मेवारीबोध गर्दै सहयोग प्रदान गर्ने गोन्पाका गुरुहरू तथा सम्पूर्ण सहयोगदाताहरूप्रति आभार व्यक्त गरे।
गोन्पाले प्रदान गरेको यस आर्थिक सहयोगले विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विपद्का बेला धार्मिक संघसंस्था तथा विभिन्न क्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
















