मेलम्ची –“कृषि, पर्यटन, पूर्वाधार र जलधार : समृद्ध मेलम्चीको आधार” भन्ने नारालाई व्यवहारमा उतार्दै मेलम्ची नगरपालिका विकासको तीव्र गतिमा अघि बढिरहेको छ। नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा नगरले पूर्वाधार, कृषि, पर्यटन र जलाधार संरक्षणलाई प्राथमिकतामा राख्दै समग्र सामाजिक–आर्थिक रूपान्तरणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ।
दुर्गम बस्तीलाई सहज पहुँचसँग जोड्ने उद्देश्यले मेलम्ची–ज्यामिरे–गुफाडाँडा सडक सुधार, फट्टे र इन्द्रावती नदीमा पक्की पुल निर्माण, तथा यातायात व्यवस्थापनका विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। विशेषगरी मेलम्ची–९ का गुफा, मुलखर्क र ओख्रेनीलगायतका गाउँहरू सडक सञ्जालसँग जोडिएपछि स्थानीयको दैनिक जीवन सहज बनेको छ।
स्थानीयका अनुसार सडक र पुल निर्माणले कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ भने यातायात खर्च र समयसमेत घटेकाले किसानको आम्दानीमा सकारात्मक प्रभाव परेको छ।



पर्यटन क्षेत्रको विकासलाई पनि नगरपालिकाले विशेष प्राथमिकता दिएको छ। ऐतिहासिक पदमार्ग, प्राकृतिक जलधार तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आकर्षक पर्यटन गन्तव्य बनाउने योजना अघि बढाइएको छ। यससँगै होमस्टे सञ्चालन, स्थानीय पर्यटन गाइड तालिम, स्थानीय उत्पादनको बजारीकरण तथा ‘कोशेली घर’ स्थापना गरी स्थानीय रोजगारी र आयआर्जन अभिवृद्धि गर्ने प्रयास गरिएको छ।
जलाधार संरक्षण तथा खानेपानी र सिँचाइ विस्तारका कार्यक्रममार्फत स्रोत संरक्षण, वन व्यवस्थापन र पानीको दिगो उपयोगमा नगरपालिकाले लगानी बढाएको छ। नगर प्रमुख आइतमान तामाङका अनुसार यी कार्यक्रमले किसानको उत्पादन क्षमता वृद्धि हुनुका साथै स्थानीयको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सहयोग पुगेको छ।
नगर उपप्रमुख उमा प्रधानले विकास योजनाको सफल कार्यान्वयनमा स्थानीय समुदायको सक्रिय सहभागिता र पारदर्शी कार्यशैली मुख्य आधार रहेको बताइन्।
नगर प्रमुख तामाङले भने, “हाम्रो लक्ष्य समृद्धि र दिगो विकास हो, जसको प्रत्यक्ष लाभ प्रत्येक नागरिकले महसुस गर्न सकून्। चार वर्षअघि कठिन जीवन बिताइरहेका धेरै स्थानीय अहिले सडक, सेवा र अवसरसँग जोडिँदै आत्मनिर्भर र आशावादी बनेका छन्।”
यस्तै, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले नगरपालिकाले निजी क्षेत्र र विकास साझेदारसँग सहकार्य गर्दै स्रोत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने नीति लिएको जानकारी दिए। स्थानीय नेतृत्व, नागरिक सहभागिता र दीर्घकालीन योजनाका आधारमा मेलम्ची नगरपालिका समृद्ध र दिगो विकासको दिशामा अगाडि बढिरहेको उनको भनाइ छ।











