काठमाडौं, साउन ३० — तातोपानी नाकाको कोदारी राजमार्ग अन्तर्गत इको पहिरो, डाक्लाङ लगायतका पहिरो प्रभावित तथा अवरुद्ध सडकखण्डलाई यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा दीर्घकालीन योजना तथा कार्ययोजना तयार गर्ने उद्देश्यले नेपाल हिमालय सीमापार वाणिज्य संघमा छलफल सम्पन्न भएको छ।
छलफलमा सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य भरत पराजुली लगायत सरोकारवाला पक्षको सहभागिता रहेको थियो। बैठकमा इको पहिरो, डाक्लाङ लगायतका जोखिमयुक्त सडकखण्डको स्थलगत निरीक्षणका लागि विशेषज्ञ टोली परिचालन गर्ने तथा प्राप्त प्राविधिक प्रतिवेदनका आधारमा दीर्घकालीन समाधानसहित कार्यान्वयन प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको जनाइएको छ।



छलफलका क्रममा तातोपानी नाका मुलुकको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक नाका भएकाले राजमार्गलाई सुरक्षित, दिगो र वर्षैभरि सञ्चालनयोग्य बनाउन तत्कालीन मर्मतसँगै दीर्घकालीन संरचनात्मक समाधान आवश्यक रहेकोमा जोड दिइएको थियो।
सहभागीहरूले पहिरो नियन्त्रण, सडक संरक्षण, जोखिम न्यूनीकरण तथा आवागमनलाई नियमित र सुरक्षित बनाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्दै शीघ्र कार्यान्वयनमा जानुपर्ने धारणा राखेका थिए।
उक्त पहलले तातोपानी नाका हुँदै हुने आयात–निर्यात, स्थानीय जनजीवन तथा पर्यटन गतिविधिलाई सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।











