काठमाडौं। लामो समयदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई लिएर सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
तातोपानी नाका खुलाउने विषयमा विज्ञ, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गराई आवश्यक छलफल र पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।



आयोजकका अनुसार आगामी कार्तिक ३० गते दिउँसो १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा कार्यक्रम हुनेछ। कार्यक्रम माननीय सांसद भरतप्रसाद पराजुलीको सचिवालयको आयोजनामा हुन लागेको हो।
नाका सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा, व्यापारी तथा सीमापार व्यापार व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै नाका पुनः सञ्चालनका लागि साझा धारणा निर्माण गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
तातोपानी नाका सञ्चालनमा आएमा चीनसँगको व्यापारिक कारोबार सहज हुनुका साथै सिन्धुपाल्चोकसहित देशकै आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नाका पुनः सञ्चालनका लागि नेपाल सरकारले पनि कूटनीतिक पहल जारी राखेको छ। तर चिनियाँ पक्षको स्वीकृति नआएकाले नियमित सञ्चालन अनिश्चित रहेको छ।



