सिन्धुपाल्चोक। मेलम्चीमा सम्पन्न नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा राजनमान श्रेष्ठ र बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर) को जोडी प्रथम भएको छ।
प्रतियोगिताको फाइनल खेलमा शैलेस खड्का र नेत्र तामाङको जोडीलाई पराजित गर्दै श्रेष्ठ र तामाङको जोडीले उपाधि हात पारेको हो।



प्रतियोगितामा प्रथम हुन सफल यस जोडीको जितसँगै एउटा रोचक गुरु–चेला सम्बन्ध पनि चर्चामा आएको छ। करिब २० वर्षअघि प्रशिक्षक राजनमान श्रेष्ठले कराते सिकाएर ब्ल्याक बेल्टसम्म पुर्याएका आफ्नै चेला कृष्णकुमार तामाङसँग यसपटक ब्याडमिन्टन कोर्टमा सहयात्रा गर्दै नगरस्तरीय प्रतियोगिताको उपाधि जित्न सफल भएका हुन्।
पुरानो गुरु–चेला सम्बन्धलाई खेलकुदमार्फत पुनः जोड्न पाउँदा प्रशिक्षक श्रेष्ठले खुसी व्यक्त गरेका छन्। करिब दुई दशकअघि करातेको प्रशिक्षणबाट सुरु भएको गुरु–चेलाको सम्बन्ध अहिले ब्याडमिन्टनको कोर्टसम्म आइपुग्दा प्रतियोगिता उनीहरूका लागि थप स्मरणीय बनेको छ।
यस जितले उमेर र समयसँगै खेलप्रतिको रुचि, लगाव तथा गुरु–चेलाबीचको आत्मीय सम्बन्धलाई समेत उजागर गरेको छ।



