काठमाडौं । अमेरिका लगायत विभिन्न देशमा सांगीतिक प्रस्तुति दिँदै आएका ‘गुल्मी गाइज’ ब्यान्डका गायक तथा संगीतकार हरि कर्माचार्य दुई वर्षपछि नेपाल फर्किएका छन्। नेपाल फर्किएसँगै उनले काठमाडौंको चर्चित पर्यटकीय तथा रात्रिकालीन मनोरञ्जनको केन्द्र ठमेलमा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन्।
नेपाली गीत–संगीतलाई देश तथा विदेशमा प्रवर्द्धन गर्दै आएका कर्माचार्यको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। उनले आफ्ना पुराना तथा चर्चित गीतहरू प्रस्तुत गर्दै विगतका सांगीतिक क्षणलाई पुनः ताजा बनाएका थिए।
विदेशमा रहेर पनि नेपालीपन, नेपाली संस्कृति र नेपाली गीत–संगीतप्रति उत्तिकै माया र लगाव राख्ने कर्माचार्यले आफ्नो प्रस्तुतिमार्फत नेपाली संगीतप्रतिको प्रेम झल्काएका थिए।
ठमेलको रात्रिकालीन माहोलमा नेपाली गीत–संगीतको धुनसँगै रमाएका दर्शकको उत्साहले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। उनका गीतमा रमाउन रातभरि नै दर्शकको उल्लेख्य भीड लागेको थियो।
विदेशका विभिन्न देशमा प्रस्तुति दिँदै आएका कर्माचार्यको नेपाल आगमन र ठमेलमा भएको सांगीतिक प्रस्तुतिले नेपाली संगीतप्रेमीमाझ थप उत्साह जगाएको छ।
















