अनिश तिवारी/सिन्धुपाल्चोक — गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा आफन्त गुमाएका बाह्रबिसे नगरपालिकाका ४० परिवारलाई सुरेश तिमल्सिनाले राहत सामग्री वितरण गरेका छन्।विपन्न पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले तिमल्सिनाले विभिन्न व्यक्ति तथा संस्थाबाट सामग्री संकलन गरी वितरण गरेका हुन्। चामल, चिउरा, चाउचाउ, दालमोठ, मञ्जन, ब्रस, सेनेटरी प्याड, ब्ल्याङ्केट र मास्कलगायत सामग्री वितरण गरिएको उनले बताए। ‘ राहत सामग्री खरिद तथा संकलनका क्रममा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भएको थियो।
कलाकार ऋचा शर्माको पहलमा चामल सहयोग प्राप्त भएको थियो भने कलाकार जितु नेपालले पनि राहतका लागि सहयोग गरेका थिए,’तिमल्सिनाले भने । अस्ट्रेलियामा रहेका नेपालीबाट समेत सहयोग जुटेको र करिब २ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन भएको तिमल्सिनाले बताए। संकलित सामग्री पीडित परिवारसम्म पुर्याउने क्रममा लागेको ढुवानी खर्चसमेत उनले आफैंले बेहोरेका थिए।
‘आफ्नै परिवारका सदस्य गुमाउँदाको पीडा शब्दमा व्यक्त गर्न सम्भव हुँदैन,’ तिमल्सिनाले भने, ‘त्यही पीडामा बाँचिरहेका परिवारको दुःखमा केही भए पनि मलम लगाउन सकियोस् भनेर सहयोग जुटाएका हौं।’ तिमल्सिनाले पछिल्लो समय सिन्धुपाल्चोकमा सामाजिक सेवाका गतिविधिमा समेत सक्रियता बढाउँदै आएका छन्। विपद्का बेला प्रभावित परिवारलाई सहयोग जुटाउने तथा सामाजिक कार्यमा सहभागी हुँदै आएको उनले बताए। भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बाह्रबिसे नगरपालिकाका ५८ जना सम्पर्कविहीन भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेका केहीको कुशको शव बनाएर अन्त्येष्टिसमेत गरिएको छ। बाढीपछि सिन्धुपाल्चोकका २ सय ३९ जना अझै सम्पर्कविहीन छन् । जसमा अधिकाशं बेपत्ताका परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका थिए ।
















