काठमाडौं, १८ असोज । रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित भई काठमाडौंको स्वयम्भुस्थित नुब्री गुम्बालगायतका आश्रयस्थलमा बसिरहेका परिवारका लागि रेन्बो भोलेन्टियर क्लबले ‘एकदिने सामुदायिक मनोसामाजिक तथा कल्याणकारी भ्रमण कार्यक्रम’ सञ्चालन गरेको छ।
बाढीपछि विस्थापित भई अस्थायी होल्डिङ सेन्टरमा बस्दै आएका प्रभावित परिवारमा लामो समयसम्मको अस्थायी बसोबासका कारण एक्लोपन, दिक्दारी, मानसिक थकान तथा अनिश्चितता बढ्न थालेपछि मानसिक तनाव न्यूनीकरण, सामाजिक अन्तरक्रिया अभिवृद्धि र मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।
प्रारम्भिक चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध भए पनि लामो समयसम्म सीमित स्थानमा बस्नुपर्दा प्रभावित परिवारको मनोसामाजिक अवस्थालाई समेत सम्बोधन गर्न आवश्यक देखिएको क्लबको भनाइ छ।
रेन्बो भोलेन्टियर क्लबका अध्यक्ष मदन पौडेलले राहत सामग्री वितरणसँगै प्रभावित परिवारलाई सकारात्मक वातावरण, सामाजिक अन्तरक्रिया र मनोरञ्जनको अवसर दिन आवश्यक रहेको बताए। उनका अनुसार होल्डिङ सेन्टरमा अधिकांश समय खाना खाने, आराम गर्ने र पर्खाइमै बित्ने भएकाले प्रभावितहरूको मनोबल उच्च बनाउन र जीवनमा नयाँ उत्साह थप्न कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा वृद्धवृद्धा, एकल महिला तथा बालबालिकासहित ८० जना प्रभावितको प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रमलाई प्रभावकारी बनाउन आमाछोदङमो गाउँपालिकाका १० जना स्थानीय स्वयंसेवक समेत परिचालन गरिएको क्लबले जनाएको छ।
भ्रमणका क्रममा सहभागीहरूले काठमाडौंका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गरेका थिए। उनीहरूले सामूहिक भोजन, आपसी अन्तरक्रिया तथा विभिन्न सिर्जनात्मक र मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागिता जनाएका थिए।
कार्यक्रममा सहभागी एक प्रभावितले होल्डिङ सेन्टरमा लामो समय बस्दा आफूहरू निकै उकुसमुकुस भएको अनुभव सुनाउँदै रेन्बो भोलेन्टियर क्लबको पहलले केही समय भए पनि पीडाबाट बाहिर निस्केर नयाँ वातावरणमा रमाउने अवसर मिलेको बताए। नयाँ ठाउँको भ्रमण, सिर्जनात्मक गतिविधि र सामूहिक सहभागिताले आफूहरूमा पुनः उत्साह र आशा जगाएको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी चिनियाँ स्वयंसेविका मा खोइ छीङ्ले सुरुमा बाढीपीडितलाई सहयोग गर्ने माध्यम भौतिक राहत सामग्री मात्र हो भन्ने आफूलाई लागेको भए पनि प्रभावित परिवारसँग प्रत्यक्ष भेटेपछि मनोसामाजिक सहयोग पनि उत्तिकै महत्वपूर्ण रहेको महसुस भएको बताइन्। प्रभावितको अनुहारमा देखिएको मुस्कान, आपसी कुराकानी र उत्साहले आफूलाई गहिरो रूपमा छोएको उनले बताइन्।
यसैगरी, श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य विशाल लामाले बाढी प्रभावितलाई बौद्धनाथ स्तूप परिसरमा स्वागत गर्दै विपद्को कठिन अवस्थाको सबैले मिलेर सामना गर्नुपर्ने बताए। उनले भगवान् बुद्धको कृपाले आगामी दिनमा परिस्थिति अनुकूल हुँदै जाने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरू बौद्धनाथ स्तूप परिसरमा भेला भई रसुवा बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको सम्झनामा मौनधारण तथा दीप प्रज्वलन गरेका थिए। हिमाली बौद्ध परम्पराअनुसार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै प्रभावित परिवारको सुख, शान्ति, स्वास्थ्य र कल्याणका लागि सामूहिक मोन्लम (प्रार्थना सभा) समेत आयोजना गरिएको थियो।
रेन्बो भोलेन्टियर क्लबका अनुसार कार्यक्रमको उद्देश्य मनोरञ्जनमा मात्र सीमित नभई प्रभावित व्यक्तिलाई सामाजिक अन्तरक्रिया, शारीरिक सक्रियता, मानसिक विश्राम तथा सामान्य दैनिकीको अनुभूति गराउनु हो। यस्ता गतिविधिले विपद्पछिको पुनःस्थापनामा प्रभावित समुदायको मनोसामाजिक स्वास्थ्य, आत्मबल र सामुदायिक एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने क्लबको विश्वास छ।
















