काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण मुस्ताङको कोरला नाका समेत बन्द भएपछि चीनसँगको व्यापारिक आवागमन थप प्रभावित भएको भन्दै सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य भरतप्रसाद पराजुलीले तातोपानी–कोदारी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले रसुवागढी र कोरला नाका प्राकृतिक विपत्तिका कारण प्रभावित रहेको अवस्थामा तुलनात्मक रूपमा सञ्चालन गर्न सकिने तातोपानी नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा खोल्न सरकारले चीनसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो।
उहाँले दसैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा चीनबाट हुने आयात प्रभावित हुँदा बजारमा अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति र मूल्यमा असर पर्न सक्ने भन्दै समयमै वैकल्पिक व्यापारिक मार्ग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
“रसुवा र कोरला नाका सञ्चालनमा आउन नसकेको अवस्थामा सुरक्षित रहेको तातोपानी नाका खोल्न सरकारले कूटनीतिक पहल गर्नुपर्छ। दसैंअघि नै नाका सञ्चालन गरेर चाडपर्वमा उपभोग्य वस्तुको अभाव हुन नदिन आवश्यक पहल गरियोस्,” सांसद पराजुलीले सदनमा भन्नुभएको छ।
पराजुलीका अनुसार अन्य उत्तरी नाका प्रभावित भएपछि चीनबाट नेपाल आउने सामानका लागि तातोपानी महत्वपूर्ण वैकल्पिक मार्ग बन्न सक्छ। तातोपानी नाका सञ्चालनमा आएमा चाडपर्वको समयमा आयात तथा आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
यसअघि पनि सांसद पराजुलीले तातोपानी–कोदारी नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै परराष्ट्रमन्त्रीमार्फत चीन सरकारसँग आवश्यक कूटनीतिक संवाद गर्न आग्रह गर्नुभएको थियो।
















