सिन्धुपाल्चोक । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनको यात्रा सुरु गरेका कुमार दुलालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी दिएका छन्।
नेपाल विद्यार्थी संघको गतिविधिमार्फत राजनीतिमा प्रवेश गरेका दुलालले २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। त्यसपछि स्वतन्त्र विद्यार्थी युनियन, प्राविधिक विद्यार्थी परिषद् हुँदै नेपाली कांग्रेसको राजनीतिमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको उनको भनाइ छ।
विद्यार्थी जीवनदेखि नै कांग्रेस नेता गगनकुमार थापासँग राजनीतिक सहकार्य गर्दै आएका दुलालले पार्टीमा पुस्तान्तरण, नेतृत्वमा स्थायित्व तथा संगठनात्मक सुधारको विषयमा निरन्तर बहस र पैरवी गर्दै आएको बताएका छन्। थापालाई नयाँ पुस्ताको नेतृत्वका रूपमा स्थापित गर्न विद्यार्थी कालदेखि नै आफूले राजनीतिक बहस र अभियानमा सक्रिय भूमिका खेलेको उनको दाबी छ।
दुलालले थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघको सभापति तथा प्राविधिक विद्यार्थी परिषद्–नेपाल (FOTS-Nepal) को केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यका लागि समेत प्रत्याशी बनेका थिए।
उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनमा मात्र सीमित छैन। विश्व युवा सम्मेलन तथा अन्तर्राष्ट्रिय समाजवादी युवा संगठन (IUSY) लगायतका अन्तर्राष्ट्रिय कार्यक्रममा प्रतिनिधिका रूपमा सहभागी हुँदै आएका दुलालले विभिन्न सामाजिक तथा राजनीतिक अभियानमा समेत सहभागिता जनाउँदै आएका छन्।
स्वास्थ्य क्षेत्रसँग समेत जोडिएका दुलाल नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका थिए। उक्त जिम्मेवारीमार्फत स्थानीय स्वास्थ्य संस्थाको व्यवस्थापन तथा स्वास्थ्य सेवासँग सम्बन्धित गतिविधिमा समेत उनले भूमिका निर्वाह गरेका थिए।
शिक्षा, स्वास्थ्य, युवा सहभागिता, सामाजिक अभियान तथा स्थानीय सरोकारका विषयमा सक्रिय रहँदै आएका दुलालले आफूलाई राजनीतिकर्मीका साथै सामाजिक अभियन्ताका रूपमा समेत अघि बढाउँदै आएको बताएका छन्।
आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी दिएका दुलालले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा साथ दिँदै आएका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन र सहयोगका लागि आग्रह गरेका छन्।
दुलालले कांग्रेसलाई थप सुदृढ, गतिशील, संगठनमुखी र जनमुखी बनाउन आफूले निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिमा समर्थन गरी विजयी गराउन अपिल गरेका छन्।
















