सिन्धुपाल्चोक । चाडपर्व नजिकिँदै गर्दा चौतारा साँगाचोकगढी नगरपालिकाले मासु पसल तथा बधशालाको अनुगमनलाई तीव्रता दिएको छ। नगर उपप्रमुख सीता थापाको नेतृत्वमा नगरपालिकाको टोलीले चौतारा, मेल्चौर, सुकुटे, साँगाचोकलगायतका बजार क्षेत्रमा सञ्चालित मासु पसल तथा बधशालाको अनुगमन गरेको हो। अनुगमनका क्रममा मासुको गुणस्तर, बिक्रीस्थलको सरसफाइ, मासु राख्ने तथा भण्डारण गर्ने तरिका, बधशालाको अवस्था, व्यवसाय दर्ता तथा नवीकरण र सञ्चालनका कानुनी प्रक्रिया लगायतका विषयमा निरीक्षण गरिएको थियो। अनुगमनका प्राथमिकतामा जानकारी तथा सचेतना व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया, सरसफाइ तथा खाद्य स्वच्छताका विषयमा व्यवसायीलाई जानकारी गराइएको छ।
अटेरी गर्नेलाई चेतावनी निर्धारित मापदण्ड तथा कानुनी प्रक्रिया पालना नगरेका व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ। आगामी अनुगमनमा समेत नियम पालना नगरेको पाइएमा नियमानुसार कारबाही गर्ने चेतावनी दिइएको छ।दर्ता वा नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले आवश्यक प्रक्रिया पूरा गरी व्यवसाय दर्ता तथा नवीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। अनुगमनका क्रममा देखिएका कमजोरी तत्काल सुधार गर्न निर्देशन दिँदै उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले नियमअनुसार व्यवसाय सञ्चालन नगरे आगामी अनुगमनमा कारबाही गरिने बताउनुभयो। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँले मासु पसल तथा बधशालामा स्वच्छता कायम गर्नु व्यवसायीको मुख्य जिम्मेवारी भएको बताउनुभयो।



उहाँले मासुको सुरक्षित भण्डारण, बिक्रीस्थलको सरसफाइ र स्वच्छ बिक्री प्रणालीमा विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो। यसअघि बुधबार नगरपालिकाले वडा नम्बर ५ र ७ मा सञ्चालित ११ वटा मासु पसल तथा दुईवटा बधशालाको अनुगमन गरेको थियो। अनुगमनका क्रममा सरसफाइ तथा व्यवस्थापनमा सुधार गर्नुपर्ने अवस्था देखिएको नगरपालिकाले जनाएको छ। अनुगमन टोलीमा वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, वडा नम्बर १० का अध्यक्ष निलबहादुर तामाङ, वडा नम्बर १२ का अध्यक्ष दीपेन्द्र नेपाल, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी, कर्मचारी, जनप्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए। नियमित बजार अनुगमनसँगै व्यवसायीको जिम्मेवारी र उपभोक्ताको सचेतना पनि उत्तिकै आवश्यक रहेको सरोकारवालाको भनाइ छ। स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाद्य वस्तुको उपलब्धता सुनिश्चित गर्न नगरपालिकाले आगामी कार्यलाई निरन्तरता दिने वताएको छ ।











