सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
भदौ १० गते आएको बाढीपहिरोबाट रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। सहयोग रकम नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको भदौ महिनाको तलबबाट तह तथा श्रेणीअनुसार ३ देखि १० दिनसम्मको पारिश्रमिक कट्टा गरी संकलन गरिनेछ।
बाढीका कारण चौतारा साँगाचोकगढी नगरपालिकाका १२ जना नागरिक रसुवा क्षेत्रमा सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। उनीहरूको खोज तथा उद्धारका लागि केन्द्रीय कमान्ड पोस्टसँग निरन्तर समन्वय भइरहेको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, विपद्का कारण बेपत्ता वा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँका दरले तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत नगरपालिकाले गरेको छ।
नगरपालिकाले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नागरिक समाज, निजी क्षेत्र, विभिन्न संघसंस्था तथा आम नगरवासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरेको छ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाले आफ्नो क्षमताअनुसार तत्काल सहयोगको पहल अघि बढाएको बताएका छन्।

















