सिन्धुपाल्चोक- पाँचपोखरी घटनाप्रति गाउँपालिका अध्यक्ष लामाद्वारा दुःख व्यक्त,, घाइतेको उद्धारमा स्थानीय तहको सक्रियता पाँचपोखरी थाङपाल गाउँपालिकाको पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी क्षेत्रमा जनैपूर्णिमाको अवसरमा भएको खुकुरी तथा छुरा प्रहारको घटनाप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ।
गाउँपालिका अध्यक्ष टासी लामाले घटनाबाट आफूहरू स्तब्ध भएको बताउँदै घाइतेहरूको उद्धार तथा उपचारमा गाउँपालिकाले तत्काल सक्रियता देखाएको जानकारी दिनुभएको छ। गाउँपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ भदौ १२ गते जनैपूर्णिमा मनाउने क्रममा पाँचपोखरी क्षेत्रमा अप्रिय घटना भएको हो। घटनामा केही व्यक्ति घाइते भएपछि स्थानीय सरकारको दायित्व र संवेदनशीलतालाई ध्यानमा राख्दै वडा नं. ३ का जनप्रतिनिधि, पाँचपोखरी संरक्षण क्षेत्र विकास समिति, नेपाली सेना र नेपाल प्रहरीसँग तत्काल समन्वय गरी उद्धारको पहल गरिएको अध्यक्ष लामाले बताउनुभएको छ।



घाइतेहरूको तत्काल प्राथमिक उपचारका लागि नेपाली सेना र गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित आधारभूत स्वास्थ्य शिविरमा उपचारको व्यवस्था मिलाइएको थियो। गम्भीर घाइतेको जीवनरक्षा तथा उद्धारका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारीसमेत गरेको थियो। तर प्रतिकूल मौसम तथा बाक्लो हुस्सुका कारण तत्काल हेलिकोप्टर उडान सम्भव हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि स्थानीय होटल व्यवसायी तथा अन्य सहयोगीहरूको समन्वयमा घाइतेहरूलाई कठिन भौगोलिक बाटो हुँदै करिब ६ घण्टा बोकेर जडीबुटीपूर्ण भीरपहरा काट्दै देउरालीसम्म ल्याई सडक पहुँचमा पुर्याइएको गाउँपालिकाले जनाएको छ। गम्भीर घाइतेलाई उपचारका लागि एउटा एम्बुलेन्समार्फत सिधै काठमाडौं लैजाने व्यवस्था गरिएको थियो भने अन्य घाइतेलाई गाउँपालिकाको जेसीबी प्रयोग गरी सडक पहुँच भएको स्थानसम्म ल्याएर धुलिखेल अस्पताल पुर्याइएको जनाइएको छ। त्यसपछि घाइतेहरूलाई आवश्यकताअनुसार पाँचपोखरी प्राथमिक अस्पतालमा उपचार तथा खानपानको व्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौंसम्म पठाउने कार्यसमेत सफल भएको गाउँपालिकाले जनाएको छ।
अध्यक्ष लामाका अनुसार भौगोलिक विकटता, सीमित स्रोतसाधन र प्रतिकूल मौसमका बाबजुद गाउँपालिकाले आफ्नो तर्फबाट उद्धार तथा उपचारमा कुनै कसर बाँकी नराखी प्रयास गरेको छ। उहाँले आगामी दिनमा यस्ता अमानवीय घटना दोहोरिन नदिन गाउँपालिका पूर्ण रूपमा सचेत रहने बताउनुभएको छ। गाउँपालिकाले घटनालाई दुःखद र अमानवीय घटना भन्दै पवित्र धार्मिक तथा पर्यटकीयस्थलमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाहीका लागि प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ। अध्यक्ष लामाले पाँचपोखरीमा आस्था राखेर पुगेका सम्पूर्ण भक्तजन, पर्यटक तथा घाइते परिवारजनप्रति गाउँपालिकाको तर्फबाट हार्दिक क्षमायाचना तथा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पाँचपोखरी क्षेत्रको दीर्घकालीन सुरक्षा व्यवस्थापन, स्वास्थ्य प्रबन्ध तथा पर्यटक सुरक्षाका लागि शीघ्र सर्वपक्षीय बैठक बोलाई ठोस नीतिगत निर्णय गर्ने जानकारीसमेत दिनुभएको छ। घटनाको उद्धार तथा व्यवस्थापनमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पाँचपोखरी संरक्षण क्षेत्र विकास समिति, स्थानीय होटल व्यवसायी तथा नागरिक समाजप्रति गाउँपालिका अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभएको छ।











