सिन्धुपाल्चोक — गत भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको तथा जनजीवन अस्तव्यस्त बनेका बाढीपीडितका लागि सिन्धुपाल्चोकबाट राहत सामग्री संकलन गरी सरकारलाई हस्तान्तरण गरिएको छ।
बाढीका कारण घर, सडक, पुल तथा दैनिक उपभोगका सामग्रीमा क्षति पुगेपछि उद्धार गरिएका प्रभावित नागरिकको तत्कालीन दैनिकी सहज बनाउने उद्देश्यले द काउन्सिल अफ जेन्जी, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाका सहयोगीहरूको समन्वयमा राहत सामग्री संकलन गरिएको हो।



संकलित करिब २ टन राहत सामग्री सरकारलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। राहत सामग्रीमा बाढीपीडितका लागि आवश्यक दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री समावेश गरिएको बताइएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन नागरिकस्तरबाट गरिएको सहयोगले पीडित परिवारलाई केही समयका लागि भए पनि दैनिक जीवन सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
आयोजकले विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्न सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत आग्रह गरेको छ।











