सिन्धुपाल्चोक — रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकाय र आम नागरिकलाई आग्रह गरिएको छ।



विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा तत्काल राहतलाई प्राथमिकतामा राख्दै सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, सामाजिक अभियन्ता, निजी क्षेत्र तथा आम नागरिकलाई उद्धार, राहत र पुनःस्थापनाको अभियानमा एकजुट हुन गाउँपालिकाले अपिल गरेको छ।
गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट रु. १० लाख राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ। त्यस्तै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीहरूले एक दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निर्णयसमेत गरिएको छ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनामा हातेमालो गर्न आग्रह गर्नुभएको छ।
गाउँपालिकाले रसुवा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारी निकाय, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकबाट थप सहयोगको अपेक्षा गरेको जनाएको छ।











