सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको कार्यालयमा जिल्लाको समग्र विकास, पूर्वाधार निर्माण तथा स्थानीय तहबीचको समन्वयका विषयमा छलफल भएको छ।
छलफलमा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय भरत प्रसाद पराजुली, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।



बैठकमा जिल्लाभित्र सञ्चालन भइरहेका तथा आगामी दिनमा आवश्यक पर्ने विकास आयोजना, सडक तथा पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयमा छलफल भएको जनाइएको छ। साथै स्थानीय तहमा देखिएका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
जिल्ला समन्वय समितिले जिल्लाभित्रका स्थानीय तहबीच समन्वय गर्नुका साथै विकास निर्माणका कार्यमा सन्तुलन कायम गर्न अनुगमन तथा समन्वय गर्ने संवैधानिक भूमिका निर्वाह गर्दै आएको छ।

छलफलमा जिल्लाको आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनालाई अघि बढाउने तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास निर्माणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच निरन्तर समन्वय गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।











