मेलम्ची, सिन्धुपाल्चोक । रिड नेपालद्वारा सञ्चालित ‘उत्थानशील सुरुवातका लागि सुरक्षित पोषण कार्यक्रम’ अन्तर्गत मेलम्ची नगरपालिकामा जलवायु अनुकूल समुदाय तथा विद्यालय निर्माणसम्बन्धी विशेष एकदिने प्रारम्भिक बैठक सम्पन्न भएको छ।
नगर प्रमुख आइमान तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।



बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विद्यार्थीको पोषण, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य प्रवर्द्धन तथा विद्यालयको समग्र विकासमा रिड नेपालले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्दै विद्यालय तथा समुदायलाई थप सुरक्षित, सक्षम र उत्थानशील बनाउन स्थानीय सरकार, विद्यालय, समुदाय तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
बैठकमा कार्यक्रमका उद्देश्य, कार्यान्वयन प्रक्रिया, अपेक्षित उपलब्धि तथा स्थानीय तह, विद्यालय र समुदायको भूमिकाबारे छलफल गरिएको थियो। पोषणयुक्त वातावरण निर्माण, स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि, विद्यालयको शैक्षिक सुधार तथा जलवायु अनुकूल अभ्यासलाई संस्थागत गर्ने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइराला, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
बैठकले जलवायु परिवर्तनका चुनौतीबीच बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षा र सुरक्षालाई प्राथमिकतामा राख्दै उत्थानशील विद्यालय तथा समुदाय निर्माणका लागि सहकार्यको आधार तयार गरेको आयोजकले जनाएको छ।











