तातोपानी । अरनिको राजमार्गअन्तर्गत डाक्लाङ र लिपिङ क्षेत्रमा निर्माणकार्य सुरु हुने भएको छ। सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद भरत प्रसाद पराजुलीले तातोपानी भन्सार कार्यालयको अनुगमन गर्दै नाका सञ्चालनमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। लामो समयदेखि भन्सार क्षेत्रमा अलपत्र रहेका सवारीसाधनलाई सहज रूपमा सञ्चालनमा ल्याउन तथा तातोपानी नाका तत्काल खुलाउने प्रक्रिया अघि बढाउन उहाँले निर्देशन दिनुभएको हो।
अनुगमनमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख तथा तातोपानी भन्सार कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो।



छलफलमा भन्सार क्षेत्रमा रोकिएका सवारीसाधन, व्यवसायीका समस्या तथा नाका सञ्चालनमा देखिएका अवरोधबारे चर्चा भएको थियो। तातोपानी नाकालाई दीर्घकालीन रूपमा व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना बनाउने सहमति समेत भएको छ।
कोदारी पहिरो तथा डाक्लाङको इको पहिरोका कारण उत्पन्न समस्या समाधानका लागि तत्काल व्यवस्थापन र दीर्घकालीन कार्ययोजना बनाउने विषयमा समेत छलफल भएको छ। प्रभावित यातायात तथा व्यवसायीलाई सहज हुने गरी आवश्यक पहल गरिने जनाइएको छ।











