काठमाडौं, साउन ७ — नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरिएको सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गरेका हुन्।
शेरबहादुर देउवा पक्षले बुधबार दायर गरेको उक्त पुनरावलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार निवेदन बुधबार औपचारिक रूपमा दर्ता गरिएको हो।



यसअघि वैशाख ४ गते सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई नेपाली कांग्रेसको आधिकारिक कार्यसमिति कायम रहने फैसला सुनाएको थियो।
तर देउवा पक्षले उक्त फैसला कानुनी रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै पुनरावलोकनको माग गरेको हो। अब सर्वोच्च अदालतले पुनरावलोकन निवेदन स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा प्रारम्भिक निर्णय गर्नेछ।
यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको नेतृत्व र आधिकारिकताको विवादले फेरि कानुनी मोड लिएको छ।











