सिन्धुपाल्चोक। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२/८३ को असार महिनामा सम्पादन गरेका प्रमुख गतिविधिहरू सार्वजनिक गर्दै अपराध नियन्त्रणदेखि राजस्व संकलनसम्म उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत १७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये विभिन्न मुद्दामा १४ वर्ष ८ महिनाको कैद सजाय, ७ लाख १८ हजार १४५ रुपैयाँ जरिवाना तथा ८ लाख ८२ हजार रुपैयाँ बिगो असुल गर्न बाँकी रहेको थियो।



पक्राउ पर्नेहरूमध्ये विस्फोटक पदार्थ सम्बन्धी मुद्दाका दुई प्रतिवादी पाँच वर्षपछि प्रहरीको फन्दामा परेका छन्। साथै ज्यान मार्ने उद्योग र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैगरी, जिल्लाका विभिन्न नाकाबाट २ करोड ९३ लाख ४ हजार ४७० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ। सो अवधिमा प्रहरीले १९७ थान चिनियाँ मदिरा, ७ हजार ७ सय थान विद्युतीय सिगरेट (भेप), ५ हजार ४ सय ८३ थान विभिन्न खाद्यान्न सामग्री बरामद गर्नुका साथै नदीजन्य उत्खननमा प्रयोग भएका ६ वटा टिपर र १ वटा जेसीबी नियन्त्रणमा लिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार महिनाभर ९१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। लागूऔषध, साइबर अपराध, यौन हिंसा, घरेलु हिंसा, मानव बेचबिखन, विपद् व्यवस्थापन र नागरिक सुनुवाइ लगायतका विषयमा आयोजित कार्यक्रममा २ हजार ४ सय ३ जना प्रत्यक्ष लाभान्वित भएका छन्।
प्रहरीले लामोसाँघु–जिरी सडकखण्डमा भएको सवारी ज्यान मुद्दामा फरार ट्रक र चालकलाई पनि पहिचान गरी नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि घटनाको थप अनुसन्धान भइरहेको छ।
उता बाह्रबिसे नगरपालिका–३ खुसानीबारी मा सार्वजनिक सवारी चालकहरूको लागुऔषध परीक्षणका क्रममा दुई जना चालकले लागुऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएको छ। उनीहरूलाई अदालतले जनही १८ दिन कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको प्रहरीले जनाएको छ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण, साइबर अपराध रोकथाम र समुदायमा कानुनी सचेतना अभिवृद्धि गर्ने अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।











