काठमान्डौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकार तत्काल र दीर्घकालीन दुवै उपायसहित अघि बढ्ने बताएकी छन्। शनिबार भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका आमा–छोराको परिवारसँग भेट गर्दै उनले घटनाप्रति गहिरो दुःख व्यक्त गरिन्।
मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएको मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधान सरकारको प्राथमिकतामा रहेको बताउँदै वन्यजन्तुको गतिविधि नियन्त्रण र निगरानीका लागि प्रविधिमैत्री प्रणाली प्रयोग गर्न निकुञ्ज प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिइन्।



उनले निकुञ्ज आसपासका बस्तीमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढिरहेको उल्लेख गर्दै सुरक्षित र बलियो आवास निर्माणका लागि विपद् व्यवस्थापन कोषमार्फत प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक पहल गरिने बताइन्। साथै जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षाका लागि एकीकृत तथा सुरक्षित आवास निर्माणको आवश्यकता रहेकोमा पनि जोड दिइन्।
मन्त्री गौतमले पीडित परिवारलाई प्रचलित कानुनअनुसार प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने र आवश्यक प्रक्रिया पूरा गरी असार २५ गतेभित्र रकम हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिइन्।
वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई सँगसँगै अघि बढाउनु अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै उनले स्थानीय तह, जनप्रतिनिधि र सङ्घीय सरकारबीच प्रभावकारी समन्वयमार्फत दीर्घकालीन समाधान खोजिने विश्वास व्यक्त गरिन्।
शनिबार राति भरतपुर महानगरपालिका–२३ बेलहट्टामा घरमा सुतिरहेका बेला जङ्गली हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनापछि चितवनसहित निकुञ्ज आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणको विषय फेरि राष्ट्रिय बहसको केन्द्रमा आएको छ।











