काठमान्डौं- नेपाली कांग्रेससँग आबद्ध नेता अभिषेक गिरी लाई प्रहरीले शनिबार बिहान विराटनगर–१० स्थित आफ्नै निवासबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ का अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोलीले गिरीको घरमा खानतलासी गरेको थियो। सो क्रममा अवैध हतियार लुकाएर राखिएको आशंकामा खोजतलास गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।



जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार मिश्र ले गिरीलाई पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो। बरामद भएका सामग्री र घटनासम्बन्धी विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।
उल्लेखनीय छ, गिरी यसअघि अपहरणसम्बन्धी मुद्दामा कैद भुक्तान गरी रिहा भइसकेका थिए। रिहाइपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।











