
मेलम्ची — मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जनस्वास्थ्यसँग सम्बन्धित तथ्यांक संकलन गर्दा तथ्यमा आधारित, स्पष्ट र विश्वसनीय सूचना संकलन गर्नुपर्नेमा जोड दिनुभएको छ।
“एक जिल्ला एक स्वस्थ सहर” कार्यक्रमअन्तर्गत तथ्यांक संकलन कार्यमा संलग्न स्वास्थ्यकर्मीहरूका लागि आयोजित Kobo Tool Box अभिमुखीकरण कार्यक्रम मा बोल्दै नगरप्रमुख तामाङले जनस्वास्थ्य अत्यन्त संवेदनशील विषय भएकाले तथ्यांक संकलनका क्रममा उच्च सतर्कता र जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनुभयो। उहाँले सही तथ्यांकले नीति निर्माण तथा स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।



कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले सर्वेक्षण कार्यलाई तथ्यपरक, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गर्न संकलकहरूलाई निर्देशन दिनुभयो। उहाँले संकलित तथ्यांकको गुणस्तरले कार्यक्रमको प्रभावकारितामा प्रत्यक्ष असर पार्ने भएकाले यथार्थ विवरण संकलनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
मेलम्ची नगरपालिकाको समन्वय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा तथ्यांक संकलनको महत्वबारे प्रकाश पार्नुभएको थियो।
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तथ्यांकलाई डिजिटल माध्यमबाट व्यवस्थित रूपमा संकलन गर्न तथा “एक जिल्ला एक स्वस्थ सहर” कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया !










