
काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २१६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट कानुनी व्यवस्था अनुसार बचतकर्तालाई रकम फिर्ता गर्ने कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको छ। सोही प्रक्रियाअन्तर्गत शिव शिखर सहकारीका २१६ जना बचतकर्ताले आफ्नो बचत रकम प्राप्त गरेका हुन्।



समितिले हालसम्म शिव शिखर बहुउद्देश्यीय सहकारीका कुल १ हजार ३१३ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिसकेको जनाएको छ। सरकारले समस्याग्रस्त सहकारीहरूको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमलाई प्राथमिकताका साथ पीडित बचतकर्ताको बचत फिर्तामा प्रयोग गर्दै आएको छ।
समितिले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया आगामी दिनमा पनि निरन्तर जारी रहने जानकारी दिएको छ। साथै समस्याग्रस्त सहकारी संस्थाबाट बचत फिर्ताको अपेक्षामा रहेका बचतकर्तालाई धैर्य गर्न आग्रह गर्दै उपलब्ध स्रोत र कानुनी प्रक्रियाअनुसार क्रमशः रकम वितरण गरिने जनाएको छ।
तपाईको प्रतिक्रिया !










