सिन्धुपाल्चोक- मेलम्ची नगरपालिकामा शिक्षकहरूका लागि दुईदिने एआई क्षमता विकास कार्यशाला सुरु मेलम्ची नगरपालिकाको आयोजनामा नगरपालिका भित्र सञ्चालित विद्यालयका शिक्षकहरूका लागि कृत्रिम बौद्धिकता (AI) सम्बन्धी दुईदिने क्षमता विकास कार्यशाला आजबाट सुरु भएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले प्रविधिको तीव्र विकाससँगै शिक्षण सिकाइ प्रक्रियामा कृत्रिम बौद्धिकताको उपयोग अपरिहार्य बन्दै गएको बताउनुभयो ।
उहाँले शिक्षकहरू समयानुकूल ज्ञान, सीप र प्रविधिसँग अद्यावधिक हुन आवश्यक रहेको उल्लेख गर्दै एआईले शिक्षण कार्यलाई थप प्रभावकारी, सिर्जनात्मक र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख उमा प्रधानले आजको युग प्रविधिको युग हो कृत्रिम बौद्धिकताको सही र जिम्मेवार प्रयोगमार्फत शिक्षण सिकाइलाई अझ गुणस्तरीय बनाउन सकिने बताउँदै शिक्षकहरूलाई नयाँ प्रविधिसँग परिचित गराउँदै डिजिटल शिक्षाको विस्तार गर्नु नगरपालिकाको साझा दायित्व रहेको बताउनुभयो ।



उहाँले एआईको प्रयोग गर्दा नैतिकता, विद्यार्थीको गोपनीयताको विषयमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साथै, नगरपालिकाले शिक्षा क्षेत्रमा सूचना प्रविधिको उपयोग बढाउन तथा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा सहभागी शिक्षकहरूलाई कृत्रिम बौद्धिकताको आधारभूत अवधारणा, शिक्षणमा एआईको प्रयोग, सामग्री निर्माण, मूल्याङ्कन तथा डिजिटल सिकाइका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी रिजालले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी शिक्षकहरूले कार्यशालाले आधुनिक शिक्षण विधि अवलम्बन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। मेलम्ची नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि र प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो।











