काठमाडौं – अब काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले प्रदेशस्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले प्रदान गर्दै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा पाउने भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको पहलमा प्रदेश अस्पतालहरूसँग सेवा विस्तारका लागि सम्झौता प्रक्रिया सुरु गरिएको हो। पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल र बागमती प्रदेशका लागि भरतपुर अस्पताल मार्फत सेवा उपलब्ध गराइने भएको छ।



आइतबार सम्झौता सम्पन्न भएसँगै सोमबारदेखि सेवा सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ। सेवा लिन निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा राख्नुपर्नेछ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावल का अनुसार कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।
मन्त्रालयले अन्य प्रदेशका अस्पतालहरूको समेत सूचीकरण गरिसकेको जनाएको छ। आवश्यक तयारी पूरा भएपछि देशभरका प्रदेश अस्पतालमार्फत सिभिल अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा विस्तार गरिने मन्त्रालयको भनाइ छ।











