काठमान्डौं-प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुली ले सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई पूर्ण समर्थन जनाउँदै यसले जनतामा परिवर्तन सम्भव छ भन्ने विश्वास जगाएको बताएका छन्।
संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद पराजुलीले ठूलो राजनीतिक परिवर्तन र जनताको तीव्र सुधारको चाहनालाई सम्बोधन गर्ने गरी कार्यक्रम आएको उल्लेख गरे। साथै, नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा रामचन्द्र पौडेल प्रति आभार व्यक्त गरे।



उनले संविधान संशोधन, शासन सुधारका सय कार्यसूची तथा कानुनी एवं संस्थागत सुधारप्रतिको सरकारी प्रतिबद्धताले विगतका चुनावी वाचा कार्यान्वयन नहुने प्रवृत्तिलाई गलत प्रमाणित गर्ने विश्वास व्यक्त गरे।
सांसद पराजुलीले सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित व्यापक आर्थिक सुधारको अवधारणा अघि सारेको उल्लेख गर्दै यसले व्यवसायिक वातावरण सुधार गरी उत्पादन र लगानी वृद्धि गर्ने बताए। नगदरहित कारोबार, कर संरचनाको पुनरावलोकन तथा मध्यम वर्ग र उद्यमीको बोझ घटाउने नीति सकारात्मक रहेको उनको भनाइ थियो।
डिजिटल अर्थतन्त्रलाई प्राथमिकता दिँदै सीमा रहित व्यापार र प्रविधिमैत्री आर्थिक संरचनाले नेपाली सीप, श्रम र क्षमतालाई विश्व बजारसँग जोड्ने उनले बताए। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उद्यम र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्ने कार्यक्रमलाई उनले स्वागतयोग्य भने।
किसानको खातामै प्रत्यक्ष अनुदान तथा बालीको समर्थन मूल्य निर्धारण गर्ने व्यवस्थाले वास्तविक किसानलाई न्याय हुने अपेक्षा सांसद पराजुलीले व्यक्त गरे।
ऊर्जा क्षेत्रमा आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य महत्वाकांक्षी भए पनि सम्भव रहेको उल्लेख गर्दै उनले हरित हाइड्रोजन, हरित उद्योग, रासायनिक मल उत्पादन तथा विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिताले अर्थतन्त्रलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।
वन, वातावरण तथा विद्युतसँग सम्बन्धित कानुनी जटिलता हटाएर लगानीमैत्री वातावरण बनाउन सरकार अघि बढ्नुपर्ने उनको धारणा थियो।
त्यसैगरी, दश हजार विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित शिक्षाले शिक्षा क्षेत्रमा डिजिटल विभाजन कम गर्ने उनले बताए। लगानी भिसा तथा रिमोट भिसा जस्ता व्यवस्थाले आर्थिक गतिविधि थप चलायमान बन्ने विश्वास व्यक्त गर्दै सांसद पराजुलीले सरकारको नीति तथा कार्यक्रम नेपाली जनताको अवस्था परिवर्तन गर्ने ऐतिहासिक कोसेढुंगा बन्ने दाबी गरे।











