
सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोक क्षेत्र नं. २ मा पाल्नुभएका माननीय प्रमिला कुलुजुले जिल्लामा आयोजित स्वागत भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहभागिता जनाउनुभएको छ।
रास्वपा सिन्धुपाल्चोक जिल्ला समिति, क्षेत्रीय समिति, पालिका समिति तथा वडा समितिहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



कार्यक्रममा बोल्दै माननीय कुलुजुले सिन्धुपाल्चोक क्षेत्र नं. २ को समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने, जनताबाट आएका समस्या र सुझावलाई गम्भीरतापूर्वक लिने तथा विकास निर्माणका कामहरूमा हुने अनियमितताको अनुगमन गर्दै पारदर्शी र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो।
उहाँले स्थानीय तहसँग समन्वय गर्दै दीर्घकालीन विकास योजना अघि बढाउने र जनताको अपेक्षा अनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
कार्यक्रममा सहभागीहरूले पनि क्षेत्रको विकास, रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा सुशासनका विषयमा आफ्ना धारणा राखेका थिए।






