
सिन्धुपाल्चोक — चौतारा स्थित चौतारा अस्पताल को अवलोकन भ्रमणका क्रममा महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाज की केन्द्रीय अध्यक्ष सरोज श्रेष्ठ ले अस्पतालमा देखिएका समस्या तथा चुनौतीहरू सम्बन्धित निकायसमक्ष राख्ने बताएकी छन्।
अध्यक्ष श्रेष्ठले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार, आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा समस्या देखिएको उल्लेख गर्दै सुधारका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताइन्। उनले विशेषगरी महिला तथा बालबालिकाका सेवाहरूलाई अझ सहज, सुरक्षित र गुणस्तरीय बनाउन सबै सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिइन्।


भ्रमणका क्रममा उनले अस्पताललाई महिला तथा बालबालिका मैत्री बनाउने प्रयासको प्रशंसा गर्दै यसलाई अझ प्रभावकारी बनाउन निरन्तर पहल आवश्यक रहेको बताइन्। साथै, उक्त कार्यमा नेतृत्वदायी भूमिका खेलेका मेडिकल सुपरिटेन्डेन्ट डा. रूद्रमणि भण्डारी प्रति धन्यवाद व्यक्त गरिन्।






