काठमाडौं — राष्ट्रिय संगीतकर्मी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदबाट निरेन श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्दै विदा लिएका छन्। पाँचौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले आफ्नो कार्यकालमा संघलाई सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेलेका थिए। उनको नेतृत्वमा संघले कलाकारहरूको हकहित, पेशागत सम्मान तथा संगठन सुदृढीकरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो। विशेषगरी कलाकारबीच एकता कायम गर्ने, सांगीतिक गतिविधिलाई संस्थागत रूप दिने तथा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने कार्यमा श्रेष्ठको भूमिका प्रशंसनीय मानिएको छ।



शुक्रबार राजधानी दोहोरी साँझ, माछापोखरीमा सम्पन्न संघको १० औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशनका अवसरमा श्रेष्ठले आफ्नो कार्यकालको अनुभव साझा गर्दै संघलाई अझ मजबुत बनाउँदै लैजान नयाँ नेतृत्वलाई आग्रह गरे। उनले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन्। कार्यक्रममा वक्ताहरूले श्रेष्ठको कार्यकाललाई सफल र उदाहरणीय भएको उल्लेख गर्दै संगठनलाई स्थायित्व र गति दिने नेतृत्वका रूपमा उनको योगदानको प्रशंसा गरेका थिए। पाँचौं अधिवेशनबाट अध्यक्ष बनेका श्रेष्ठबाट छैटौं महाधिवेशनमार्फत अब नेतृत्व लोक तथा दोहोरी गायिका गुणकुमारी खतिवडा बानियाँलाई हस्तान्तरण गरिएको छ।







