काठमान्डौं-ललितपुरमा दाजुभाइको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिन सफल महिला प्रहरी र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीलाई नगदसहित पुरस्कृत गरिएको छ।
बुधबार राति ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको घटनापछि हतियार सहित भाग्दै गरेको अवस्थामा पक्राउ गर्न साहसिक भूमिका खेलेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।


बुधबार साँझ करिब ७:४० बजे सिर्जन नेम्बाङ र सुमीत नेम्बाङको हत्या गरी हतियारसहित फरार भएका अभियुक्तलाई एक महिला प्रहरीले एक्लै लखेटेर नियन्त्रणमा लिन सफल भएकी थिइन्। उक्त साहसिक कार्यको उच्च मूल्यांकन गर्दै उनलाई विशेष रूपमा सम्मान गरिएको छ।
यसैगरी, समग्र घटनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीलाई पनि नगदसहित पुरस्कृत गरिएको हो।
पुरस्कार वितरण कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीको उपस्थिति रहेको थियो। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानमा देखाएको सक्रियता र साहसको प्रशंसा गर्दै यस्तो सम्मान प्रदान गरिएको जनाएको छ।







