
काठमाडौं – वसन्तपुर क्षेत्र मा एक वृद्ध व्यक्तिमाथि अभद्र व्यवहार र कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा घटनाको भिडियो तीव्र रूपमा भाइरल भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं ले मंगलबार ती युवकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भिडियोमा देखिएको घटनाका आधारमा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गरिएको हो। हाल ती युवकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।


भाइरल भिडियोमा रातो क्याप लगाएका एक युवकले वृद्धलाई सुरुमा धम्क्याउने, गालीगलौज गर्ने र त्यसपछि आफ्नो परिचयपत्र देखाउँदै हातपात गरेको देखिन्छ। घटनास्थलमा रहेका नगर प्रहरीले विवाद नियन्त्रण गर्ने प्रयास गरे पनि युवकको आक्रामक व्यवहारका कारण अवस्था तत्काल नियन्त्रणमा आउन सकेको थिएन।
घटनाको कारण र युवकले देखाएको परिचयपत्रको प्रकृति भने अझै खुलेको छैन। यस घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना र आक्रोश व्यक्त भइरहेको छ। प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरिने जनाएको छ।






