काठमाडौं — गृहमन्त्रालयमा आइतबार साँझ बसेको उच्चस्तरीय सुरक्षा बैठक केहीबेरअघि सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरी का आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल का आईजीपी राजु अर्याल सहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गरेका हुन्।
स्रोतका अनुसार दिनभर भएका घटनाक्रम र समग्र सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङले बैठक बोलाएका थिए।


यसअघि सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आइतबार बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको छ।
उक्त घटनापछि काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ। राजधानीका केही स्थानमा स्थिति केहीबेर तनावग्रस्त समेत बनेको थियो।
हालको सुरक्षा अवस्था, प्रदर्शनको व्यवस्थापन र आगामी कदमबारे बैठकमा विस्तृत समीक्षा गरिएको स्रोतले जनाएको छ।







