मेलम्ची-सिन्धुपाल्चोक चौतारा अस्पतालले ५० शैयासहित सञ्चालनमा रहेका अस्पतालहरूमध्ये नेपालकै उत्कृष्ट बन्ने गौरव हासिल गरेको छ। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले १०० मध्ये ९६ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
अनुगमनका क्रममा प्रशासनिक व्यवस्थापन, क्लिनिकल सेवा प्रवाह तथा अस्पताल सपोर्ट सेवामा अस्पतालले क्रमशः ९७, ९५ र ९७ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिइएको छ। अनुगमन टोलीका सदस्य तथा बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र तामाङका अनुसार चौतारा अस्पतालको रेकर्डिङ प्रणाली, नियमित मर्निङ कन्फरेन्स र डेटा भेरिफिकेशनजस्ता कार्यहरू अत्यन्त उत्कृष्ट रहेको पाइएको छ, जसले सेवा गुणस्तरमा निरन्तर सुधारको संकेत गर्दछ।


अस्पतालले ४ अंकले शतप्रतिशत नजिक पुगे पनि आगामी वर्ष १०० अंक हासिल गर्ने लक्ष्यसहित सुधारात्मक योजना अघि बढाउने जनाएको छ। यसअघि पनि चौतारा अस्पताल बागमती प्रदेशमा पहिलो र देशभर दोस्रो स्थानमा रहिसकेको थियो।
अस्पतालका स्वास्थ्यकर्मीहरूले सबै कर्मचारीको प्रतिबद्धता, समर्पण र मेहनतका कारण यस्तो उपलब्धि सम्भव भएको उल्लेख गर्दै बिरामीलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।







