सिन्धुपाल्चोक- इन्द्रावतीमा बंशलाल : सयौं बाईकद्वारा स्वतस्फुर्त र्याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा नवलपुर फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर चुनावी अभियान तीव्र बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्लामा पनि उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय देखिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङ मतदाता भेटघाटका क्रममा ईन्द्रावती गाउँपालिका पुग्दा कार्यकर्ताहरूले स्वस्फूर्त रूपमा बाइक र्यालीसहित भव्य स्वागत गरेका थिए। सयौँ मोटरसाइकल र करिब एक दर्जन गाडीहरूको सहभागितामा निकालिएको र्यालीले चुनावी माहोललाई थप उत्साहित बनाएको थियो।


उम्मेदवारलाई ठाउँ–ठाउँमा घडा राखेर स्वागत गर्दै विजयको अग्रिम शुभकामना व्यक्त गरिएको थियो। र्याली नवलपुर बजारबाट सुरु भई सिम्पालकाभ्रे हुँदै कुन्चोक पुगेर पुनः नवलपुर बजार फर्किएको थियो। त्यसपछि र्याली ईन्द्रावती–११ बोडगाउँ पुगेको थियो, जहाँ कोणसभा आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमपश्चात् भिमटार–पोखरे हुँदै र्याली पुनः नवलपुर बजारमा समापन भएको जनाइएको छ। ईन्द्रावती गाउँपालिका वडा नं. १ बाट आशिर्वाद ग्रहण गर्दै अघि बढेका उम्मेदवार तामाङले स्थानीय मतदाताप्रति आभार व्यक्त गरे। उनले भने, “यहाँहरूको माया, विश्वास र साथले हामीलाई अझ जिम्मेवार बनाएको छ। अब हामी इन्द्रावती सकेर चौतारा जाँदैछौं, जहाँ मतदाताको सुझाव र आशीर्वाद लिनेछौं। इन्द्रावतीवासीको अपार माया, साथ र सहयोगका लागि हार्दिक धन्यवाद।” मतदाता भेटघाट कार्यक्रम तथा र्याली उत्साहपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएकाे छ । चुनाव नजिकिँदै जाँदा जिल्लामा उम्मेदवारहरूको प्रचारप्रसार अभियान अझ तीव्र बन्दै गएको छ।







