सिन्धुपाल्चोक – नेपाली कांग्रेस का उम्मेदवार बंशलाल तामाङ ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का लागि १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। केन्द्रले अघि सारेको “भिजन १०” अनुरूप उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, विपद् व्यवस्थापन र सुशासनलाई प्राथमिकता दिएका छन्।
तामाङले सर्वसुलभ तथा प्रविधिमैत्री शिक्षा, विपन्न विद्यार्थीसहित प्राविधिक शिक्षाको विस्तार, आधारभूत अस्पताल सुदृढीकरण र दुर्गम क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना अघि सारेका छन्। कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै सिँचाइ विस्तार, उत्पादनको भण्डारण–बजारीकरण र युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


हेलम्बु, आमायाङ्री, पाँचपोखरी र मेलम्ची क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै सडक, खानेपानी, विद्युत् र इन्टरनेट पहुँच सुधार गर्ने योजना पनि समेटिएको छ। साथै बाढी–पहिरो तथा जलवायु जोखिम न्यूनीकरणमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, कानुनको समान कार्यान्वयन र डिजिटल सेवा प्रणालीमार्फत पारदर्शी सार्वजनिक सेवा प्रदान गर्ने प्रतिबद्धतादोहोर्याउँदै तामाङले राजनीति पदका लागि नभई समाज परिवर्तनको माध्यम भएको बताएका छन्।








