सिन्धुपाल्चोक — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बंशलाल तामाङ को पक्षमा चुनावी माहोल थप तातिएको छ। विशेषगरी युवाहरूको सक्रिय सहभागितासँगै क्षेत्र नं २ मा कांग्रेसको वातावरण उत्साहजनक देखिएको छ।
दरूण युवाहरूको अगुवाइमा बाहुनीपाटीदेखि मेलम्चीसम्म भव्य बाईक र्याली आयोजना गरिएको थियो। सयौँ बाईक सहभागी रहेको उक्त र्यालीले बजार तथा ग्रामीण बस्तीहरूमा चुनावी माहोल झन् तताएको देखिन्थ्यो। झण्डा र नारासहित युवाहरूले कांग्रेसको पक्षमा समर्थन जनाउँदै उम्मेदवार तामाङलाई बाहुनीपाटीबाट मेलम्ची बजारसम्म पुर्याएका थिए।


र्याली मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनासम्म पुगेको थियो। सडक किनारमा स्थानीय सर्वसाधारणले हात हल्लाउँदै स्वागत गरेका दृश्यहरूले क्षेत्र नं २ मा कांग्रेसप्रतिको समर्थन बलियो रहेको संकेत दिएको सहभागीहरूको भनाइ छ।
र्यालीपछि उम्मेदवार तामाङले मेलम्ची बजारमा घरदैलो कार्यक्रम गर्ने कार्यक्रम रहेको बताइएको छ। घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिनेछ।
कांग्रेस नगर सभापती वसन्त गुरूङ ले र्यालीपश्चात् मेलम्चीमा चुनावी सभा आयोजना गरिने जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सभामा क्षेत्र नं २ का प्रायः सबै वडाबाट नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
उम्मेदवार तामाङले आफू निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँदै जनताको साथ र समर्थन नै आफ्नो मुख्य शक्ति भएको प्रतिक्रिया दिनुभयो। “क्षेत्र नं २ मा कांग्रेसको माहोल अत्यन्त राम्रो छ, जनताको भरोसाले हामीलाई थप ऊर्जा दिएको छ,” उहाँले भन्नुभयो।
निर्वाचन मिति नजिकिँदै जाँदा क्षेत्र नं २ मा दलहरूबीच चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यद्यपि युवाहरूको व्यापक सहभागितासहित सम्पन्न भएको यो बाईक र्यालीले कांग्रेसको पक्षमा सकारात्मक सन्देश दिएको स्थानीयको बुझाइ छ।







