काठमाडौं – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। दशौँ निर्वाचन दिवसको कार्यक्रममा उनले आचारसंहिता उल्लङ्घन गरे कारबाही हुने चेतावनी दिए।
सामाजिक सञ्जालको प्रयोग सचेत ढंगले गर्न र सत्य–तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न उनले आग्रह गरे। कसैको दबाब वा प्रभावमा नपरी सही प्रतिनिधि छान्न मतदातालाई आह्वान गर्दै निर्वाचन सुरक्षाका लागि नीति तथा रणनीति तय भइरहेको जानकारी पनि गराइयो।


आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार फागुन २१ को निर्वाचनका लागि मतदान अधिकृत तोक्ने र तालिम दिने काम जारी छ। देशभरका ६,७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। निर्वाचनलाई पारदर्शी बनाउन दल र उम्मेदवारले छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।







