काठमाडौं -ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुँदै आएको स्वास्थ्य सेवाको बीमाबापतको रकम नेपाल सरकारले समयमै भुक्तानी नगरे महानगरपालिकाले नै व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमाको रकम नआउँदा अस्पताल सञ्चालनमा समस्या देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराए।
मेयर महर्जनले बीमाको भुक्तानी नहुँदा सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले नै सहनुपर्ने बताए। कथम् कदाचित नेपाल सरकारले औपचारिक पत्रमार्फत महानगरपालिकालाई भुक्तानीको जिम्मेवारी दिएमा महानगरले उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे।


उनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको र निकट भविष्यमै सञ्चालनमा ल्याइने जानकारी दिए। सो केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले अझ गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।
मेयर महर्जनका अनुसार ललितपुर महानगरपालिका र पाटन अस्पतालबीचको सहकार्य मुलुकका ७५३ स्थानीय तहका लागि एक उदाहरणीय अभ्यास बनेको छ। उनले ललितपुर महानगर ७५२ पालिकामध्ये उत्कृष्ट र उदाहरणीय पालिका बन्न सफल भएको दाबीसमेत गरे।







