सिन्धुपाल्चोक-हेलम्बु गाउँपालिकाको सहकार्य तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा हेलम्बु गाउँपालिका भित्र रहेका कृषकहरूलाई लक्षित गर्दै कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ। स्थानीय कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुर्याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो।
कृषि उत्पादनका क्रममा ढुवानीको अभाव, बजारसम्म समयमै उपज नपुग्ने समस्या र त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न कृषि एम्बुलेन्स सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यस सेवामार्फत किसानको खेतबारीबाट संकलन केन्द्र, हाटबजार तथा बजारसम्म कृषि उपज सहज रूपमा ढुवानी गरिनेछ।
हेलम्बु गाउँपालिकाले स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि र कृषि व्यवसायीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। जस्ट नेपाल फाउन्डेसनले प्राविधिक तथा संस्थागत सहयोगमार्फत किसानको सशक्तीकरणमा योगदान पुर्याइरहेको छ।
स्थानीय तह र सहयोगी संस्थाको सहकार्यमा सुरु गरिएको कृषि एम्बुलेन्स सेवाले हेलम्बु क्षेत्रका कृषकहरूलाई बजारसँग जोड्दै स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्ने विश्वास लिइएको छ।









