काँग्रेस–माओवादी गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का युवराज दुलालमाथि जनमतको अपमान गरेको आरोप लागेको छ । प्रदेशसभा भंग नभएको अवस्थामा उनले राजीनामा दिएको विषयलाई लिएर स्थानीय तहमा असन्तुष्टि देखिएको हो । उनी प्रदेशसभावाट राजीनामा दिएर संघीय निर्वाचनमा उम्मेदवार वनेका हुन् ।
इन्द्रावती गाउँपालिकाका विष्णु भारतीले सामाजिक सञ्जालमार्फत दुलालको कदमप्रति असन्तोष व्यक्त गर्दै आफूले दिएको मतको अपमान भएको टिप्पणी गरेका छन् । उनका अनुसार, पाँच वर्षका लागि जनताले दिएको जनादेशबीचैमा छाड्नु मतदाताप्रति गैरजिम्मेवार व्यवहार हो ।


स्थानीय रामबहादुर सुनारले पनि दुलालको निर्णयप्रति दुःख व्यक्त गरेका छन् । ‘दिनभर खेतालो कामका लागि सम्झौता गरेको व्यक्ति बीचमै काम छाडेर हिँडेजस्तै, जनताले पाँच वर्षका लागि जिताएर पठाएको प्रतिनिधि बीचमै फर्कनु उपयुक्त होइन,’ उनले भने ।
दुलाल प्रदेशसभा सदस्य मात्र नभई मन्त्रीसमेत बनेका थिए । यस्तो अवस्थामा राजीनामाको निर्णयले मतदातामाझ विभिन्न प्रश्न उब्जाएको स्थानीयको भनाइ छ ।प्रेस पानावाट







