काठमाडौँ । तामाङ समुदायको मौलिक संस्कार, संस्कृति र पहिचानलाई समेटिएको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक भएको छ। गीत लोकप्रिय गायक आस्मान लोप्चनको शब्द, लय तथा स्वरमा तयार गरिएको हो भने गायिका रोस्ना लुङ्बाले स्वरमा साथ दिएकी छन्।
गीतको एरेञ्ज, मिक्सिङ तथा रेकर्डिङ अर्पण थिङ तामाङद्वारा अर्पण स्टुडियोमा सम्पन्न गरिएको हो। भिडियोतर्फ गायक लोप्चन स्वयंले निर्देशन गर्दै मुख्य भूमिकामा अभिनयसमेत गरेका छन्।भिडियोमा तामाङ समुदायको परम्परागत विवाह संस्कारलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। ताम्बा, डम्फुरे र चारदामजस्ता संस्कारका अभिन्न अंगलाई यथार्थपरक रूपमा समेटिएको निर्माण पक्षले जनाएको छ।


भिडियोमा डोमा ह्योल्मो, प्रीतम गोले तामाङ, सुनिता लुङ्बा, तबु ग्याबा, मिलन थिङ पाराङ र मन्सु लामाको अभिनय रहेको छ भने अतिथि कलाकारका रूपमा फुलमान तामाङलगायतको सहभागिता छ।सिन्धुपाल्चोक भेगको मौलिक भाकाका रूपमा चिनिने खान्दोके सेलोको प्रवर्द्धनमा गायक लोप्चनको योगदान उल्लेखनीय रहँदै आएको छ।
‘तामाङ पाराले’ गीतको भिडियो हेर्नका लागि क्लिक गर्नुहोस्।







