केशव श्रेष्ठ/धादिङ्-धादिङको गल्छी गाउँपालिका वार्ड नं ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आयोजित विशेष कार्यक्रममा वडा नम्बर ८लाई औपचारिक रुपमा बालमैत्री वडा घोषणा गरिएको छ। वडा नम्बर ८ को गोगनपानीमा आयोजित कार्यक्रममा स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्धारण गरेको ५१ वटा सूचक पूरा गरेपछि वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको छ ।


वडा अध्यक्ष विशाल लुङ्गेली मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द बाँदेको प्रमुख आतिथ्यतामा रहेको थियो। कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य मधुकुमार श्रेष्ठ गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजी तिवारी लगायतको विशेष अतिथ्यता रहेको थियो। बाल अधिकार संरक्षण बालविवाह न्यूनीकरण बालश्रम अन्त्य तथा बालबालिकाको शिक्षा स्वास्थ्य र सहभागितामा उल्लेखनीय उपलब्धि हासिल भएकोले वडा घोषणा गरिएको वडा अध्यक्ष विशाल लुङ्गेलीले बताउनुभयो।







