सिन्धुपाल्चोक -नेपाली कांग्रेसभित्र नीति र नेतृत्व रूपान्तरणको बहस चलिरहेका बेला सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले एउटा साहसिक र ऐतिहासिक कदम चालेको छ। पार्टीलाई समय सापेक्ष परिवर्तन गर्न र युवा नेतृत्वको भिजनलाई संस्थागत गर्न सिन्धुपाल्चोकबाट बहुमत महाधिवेशन प्रतिनिधिहरूले ‘विशेष महाधिवेशन’को पक्षमा हस्ताक्षर गरेका छन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंग बहादुर लामाले पार्टीमा अब ढिलासुस्ती र यथास्थितिवाद स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो— “नेपाली कांग्रेस पार्टीमा समय सापेक्ष परिवर्तन आवश्यक छ। त्यो परिवर्तनको नेतृत्व युवा नेतृत्वले बोक्नुभएको छ। हामी परिवर्तनको पक्षमा युवा नेतृत्वसँगै दृढतापूर्वक उभिएका छौँ।” सभापति लामाले युवा नेतृत्वलाई इतिहास, वर्तमान र भविष्य जोड्ने नायकको रूपमा चित्रण गर्दै सिन्धुपाल्चोक सिंगो जिल्ला अब रूपान्तरणको महाअभियानमा होमिएको बताउनुभयो।


विशेष महाधिवेशनको माग गर्दै सिन्धुपाल्चोकका बहुमत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरी पार्टी नेतृत्वलाई स्पष्ट सन्देश दिएका छन्। जिल्ला कार्यसमितिले एक आधिकारिक विज्ञप्ति जारी गर्दै जिल्लाभरका नेता तथा कार्यकर्ताहरूलाई विशेष महाधिवेशनको तयारीमा जुट्न र काठमाडौंमा हुने विशेष महाधिवेशनमा सहभागी हुनका लागि भव्य उपस्थितिको आह्वान समेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ— “इतिहासको ब्याज मात्र खाएर बस्ने छुट अब कांग्रेसलाई छैन। वर्तमानका चुनौतीहरू चिर्दै भविष्यको समृद्ध नेपाल निर्माणका लागि युवा नेतृत्व जस्तो उर्जावान् र दुरदर्शी व्यक्तित्वको आवश्यकता छ। यो परिवर्तनको ज्वालालाई सफल बनाउन सिन्धुपाल्चोकबाट हजारौँको संख्यामा नेता-कार्यकर्ताहरू काठमाडौंमा आयोजना हुने विशेष महाधिवेशनमा सहभागी हुन प्रस्थान गर्नेछन्।”
सिन्धुपाल्चोकको यो निर्णयले पार्टीभित्रको परिवर्तनकारी पक्षलाई ठूलो बल पुर्याएको छ। सभापति लामाको नेतृत्वमा सिन्धुपाल्चोकले देखाएको यो साहसले देशभरका अन्य जिल्लाहरूमा पनि विशेष महाधिवेशनको पक्षमा जनलहर सिर्जना हुने सम्भावना छ । सिन्धुपाल्चोकबाट ठूलो संख्यामा नेता कार्यकर्ताहरु काठमाडौं पुगेर परिवर्तनको पक्षमा आवाज बुलन्द गर्ने तयारीमा समेत जुटेका छन् ।







