सिन्धुपाल्चोक-जागेस्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मेलम्ची नगरपालिका–११ को चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
समितिका अध्यक्ष मनोरथ दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा नगर उपप्रमुख उमा प्रधान विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि नगरपालिकाबाट आवश्यक बजेट छुट्याइने बताउनुभयो । उहाँले मेलम्ची बजार र टार क्षेत्र समृद्ध भए मात्र नगरका अन्य वडाहरूमा समेत विकास गर्न सहज हुने उल्लेख गर्नुभयो ।
त्यसैगरी उपप्रमुख उमा प्रधानले जागेस्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले टार क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि अहोरात्र खटेर काम गरिरहेको भन्दै समितिको प्रशंसा गर्नुभयो । उहाँले समितिले गर्दै आएको प्रयासलाई थप प्रभावकारी बनाउन नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखेर वडा तहबाट समेत आवश्यक समन्वय र सहयोग गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले स्थानीय उपभोक्ता समिति र नगरपालिकाबीचको सहकार्यले मात्र दिगो खानेपानी व्यवस्थापन सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
साधारणसभाले समितिको वार्षिक प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना र नीतिगत विषयमा समेत छलफल गरेको थियो । कार्यक्रममा पुनः मनोरथ दुलालकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।









