सिन्धुपाल्चोक -लायन्स क्लब अफ काठमाडौं डाँफेले शुभदीपावलीको पावन अवसरमा सञ्चालन गरिएको देउसी–भैंलो कार्यक्रमबाट संकलित रकम सामाजिक उत्तरदायित्वअन्तर्गत उपयोग गर्दै मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री कालिकाशरण आधारभूत विद्यालयका बालबालिकालाई अध्ययन तथा शैक्षिक वातावरण सुदृढीकरणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
आज मिति २०८२ मंसिर २१ गते, शनिवार, आयोजित एक सरल कार्यक्रममा विद्यालयका कलिला विद्यार्थीहरूलाई न्यानो कपडा, खेलकुद सामग्री तथा ICT टुल ‘प्रोजेक्टर’ हस्तान्तरण गरिएको सामाजिक अभियन्ता तथा पत्रकार दिप खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार क्लबले संकलित रकमलाई समुदायमै प्रत्यक्ष लाभ पुग्ने गरी उपयोग गर्नु क्लबको उद्देश्य रहँदै आएको छ।

कार्यक्रमकाे क्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेका अध्यक्ष भिमसेन खतिवडाले भन्नुभयो—
“समुदायका बालबालिकाको सिकाइ, स्वास्थ्य र आत्मविश्वास वृद्धिमा सानो सहयोगले पनि ठूलो प्रभाव पार्छ। हाम्रो क्लबले ‘We Serve’ भन्ने मूल मन्त्रअनुसार यस वर्ष शिक्षा क्षेत्रमा सकारात्मक योगदान गर्ने लक्ष्य राखेको छ। देउसी–भैंलोबाट संकलित रकम विद्यालयका विद्यार्थीहरूकै हितमा उपयोग गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ।”
अध्यक्ष खतिवडाले आगामी दिनमा पनि क्लबले यसैरी क्षेत्रीय विद्यालय तथा समुदायमा लक्षित सामाजिक क्रियाकलापलाई निरन्तरता दिइने बताउनुभयो।
विद्यालय परिवारले लायन्स क्लब अफ काठमाडौं डाँफेले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।







