मेलम्ची— मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित पर्यटकीय स्थल गुफाडाँडामा पर्यटन पार्क निर्माण कार्यको प्रकृया सुरु भएकाे छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मेलम्ची नगरपालिकाले समुदाय लक्षित पर्यटन विकासको दिशामा पार्क निर्माण कार्य अघि बढाउन ठोस कदम चालेको हाे। आर्थिक वर्ष २०८२/०८३ का लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गर्दै नगरपालिकाले धार्मिक र सांस्कृतिक महत्व बोकेको गुफाडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएको छ ।
करिव तीन करोड रुपैयाँको लागतमा निर्माण हुने बुद्ध, छ्योर्तेन र डम्फु पार्क यस क्षेत्रको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। स्थानीय समुदायलाई समेट्दै धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको संगमबाट पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको नगरले जनाएकाे छ। नगर प्रमुख आइतमान तामाङका अनुसार संघ र प्रदेश सरकारको भरमा तीन वर्ष गुजारे पनि आवश्यक स्रोत जुटाउन नसकेपछि नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट परियोजना अघि बढाउने निर्णय गरेको हो। “हामीले स्रोतको सीमितता र भौगोलिक कठिनाइबीच पनि सामुदायिक सहभागितामा पर्यटनको बाटो खोल्ने प्रयास गरिरहेका छौं,” प्रमुख तामाङले भन्नुभयो।


गुफाडाँडाको धार्मिक र सांस्कृतिक पार्क पहिलोपटक नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेकाे उपप्रमुख उमा प्रधानले बताउनुभयाे । “यो पहिलो कदम हो— जलवायु सम्मेलन स्थलसँगै मेलम्चीको सांस्कृतिक पहिचानलाई पर्यटकीय दृष्टिले परिचित गराउने। यसबाट आन्तरिक पर्यटन वृद्धि र स्थानीयकाे आम्दानी वृद्धि हुने विश्वास छ,” उहाँकाे भनाई छ।
प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले बजेट सीमित भए पनि परियोजना बहुवर्षीय योजनाअन्तर्गत पूरा गर्ने जानकारी दिनुभयो। गुफाडाँडासँगै भोटेचौर, तपचुली, चियाबगान र धौले जस्ता क्षेत्रहरूमा पनि क्रमिक रूपमा सामुदायिक सहभागितामा पर्यटकीय पार्क निर्माण गर्ने दीर्घकालीन योजना नगरपालिकाले अघि सारेको छ। यो पहलले मेलम्चीलाई “सामुदायिक पर्यटनको नयाँ गन्तव्य” बनाउने आधार तयार हुने स्थानीयको विश्वास छ।







