सिन्धुपाल्चोक । लगातारको वर्षाले क्षति पुर्याएको मेलम्ची–भोताङ सडक खण्डको मर्मत कार्य सोमबारदेखि सुरु हुने भएको छ। सडकको अवस्था बुझ्न मेलम्ची नगरपालिकाका उपप्रमुख श्री उमा प्रधान र पाँचपोखरी थाङ्गपाल गाउँपालिकाकी उपाध्यक्ष श्री सुनिता अधिकारीले आइतबार प्राविधिक टोलीसहित स्थलगत अनुगमन गरेको थिए। अनुगमनका क्रममा क्षति पुगेका स्थानहरूको पहिचान गरिएको छ। यसअघि शनिबार मेलम्ची नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पाँचपोखरी थाङ्गपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारी बीचको छलफलमा सडक मर्मत तत्काल सुरु गर्न सहमति भएको थियो।सोही अनुसार प्रमुख तामाङले नगरपालिका सिमानाभित्रका क्षतिग्रस्त सडक मर्मत गर्ने दायित्व नगरपालिकाको रहेकोले तत्काल मर्मत गर्न निर्देशन दिएका थिए। सडक मर्मतको तीव्रता र स्थानीय सरकारबीचको समन्वयले आवागमन सहज हुने अपेक्षा स्थानीय बासिन्दाहरूले गरेका छन् ।साथै मर्मत कार्य सुरु हुने जानकारी पाए पछि पाँचपोखरी थाङ्गपाल गाउँपालिकाबासी र यो सडक मार्ग प्रयोग गरी पाँचपोखरी जाने भक्तजनले खुशी व्यक्त गरेका छन्।









