काठमाडौ -नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ केन्द्रिय समितिले भदौ ४ र ५ गते काठमाडौंमा दुई दिने मुद्दामा आधारित तालिम आयोजना गरी सम्पन्न गरेको छ ।केन्द्रिय पदाधिकारी, १० जिल्ला अध्यक्षसहित ४० जना सहभागी रहेको तालिममा सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा, जलवायु परिवर्तन र न्यायोचित रूपान्तरण, श्रमिक पञ्जिकरण तथा संगठन विस्तार, गुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समिति अध्यक्ष योगेन्द्र कुमार कुँवरले निर्माण क्षेत्रमा सदस्यता विस्तारको अपार सम्भावना रहेको भन्दै स्थानीय तहसम्म संगठन विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सबै आवद्ध संघहरूको अडिट गरी नयाँ विवरण तयार गरिने जानकारी दिनुभयो ।NTUC वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जङ्ग कार्कीले जटिल परिस्थितिमा पनि काउनले सामाजिक सुरक्षा, श्रमिक पञ्जिकरण, संगठन विस्तार लगायत महत्त्वपूर्ण गतिविधि सञ्चालन गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले असङ्गठित क्षेत्रका युनियनहरूले सदस्यता शुल्क नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रम संघका अध्यक्ष प्रदीप आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । महासचिव हरीशरण लम्सालले सञ्चालन गर्नुभएको कार्यक्रममा NTUC केन्द्रीय महिला उपाध्यक्ष राधिबिस्तारका कुइकेल, महासचिव अजयकुमार राई, कैलालीको भिमदत्त नगर उपप्रमुख नीलम लेखक जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।तालिममा सामाजिक सुरक्षा कोषका अधिकृत ऋषिराम पाण्डे, NTUC कोषाध्यक्ष सञ्जयकुमार दाहाल, NTUC युवा समिति अध्यक्ष दिपेन्द्र सुनुवार, वरिष्ठ सल्लाहकार धु्रवचन्द्र गौतम र संघ अध्यक्ष आचार्य स्वयंले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।कार्यक्रमपछि सहभागीहरूलाई संघका अध्यक्ष र वरिष्ठ सल्लाहकारद्वारा प्रमाणपत्र वितरण गरिएको थियो







