मेलम्ची- श्री जय पाल्चोकी यातायात प्रा.लिले मेलम्चीमा विद्युतीय भ्यान (इभी भ्यान) सेवा औपचारिक रूपमा सुरु गरेको छ। वातावरणमैत्री, आधुनिक र कम खर्चिलो यो सेवाको प्रमुख अतिथि तथा मेलम्ची नगरपालिकाका नगरप्रमुख श्री आइतमान तामाङज्यूले विशेष समारोहका बीच उद्घाटन गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तामाङ ज्यू ले नयाँ सेवा यस क्षेत्रका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यातायात कम्पनीले नाफासँगै सेवामूलक दृष्टिकोणलाई पनि आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो। साथै, नगरपालिकाको तर्फबाट सेवा संचालनमा आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।



सो अवसरमा नगर उपप्रमुख श्री उमा प्रधान, समाजसेवी श्री बालकृष्ण देउजा र वडा नं. ११ का वडा अध्यक्ष श्री चन्द्र बहादुर तामाङले इभी सवारी साधनले इन्धन खपत घटाउने, जलविद्युतको उपयोग बढाउने र वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले स्थानीयस्तरमा भएका यस्ता नवीन प्रयासहरूले रोजगारी र अवसर सिर्जना गर्ने उल्लेख गर्दै, सेवा पारदर्शी, यात्रुमैत्री र सेवामूलक बन्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट मेलम्चीका हवल्दार विनोदकुमार गिरीले यात्रु तथा चालकहरूलाई ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्नुभयो। यस्तै, सोकुनका प्राविधिक श्री राममणी सिग्देलले इभी भ्यानको प्राविधिक पक्ष प्रस्तुत गर्दै, यसमा न्यून मर्मत खर्च, कम सञ्चालन लागत, न्यून ध्वनि प्रदूषण र छोटो दूरीका लागि उत्कृष्ट सेवा क्षमता रहेको जानकारी दिनुभयो।
श्री जय पाल्चोकी यातायात प्रा.लिका अध्यक्ष श्री राजन दुलालका अनुसार हाल मेलम्ची–काठमाडौं नियमित सेवा सञ्चालनमा आएको छ भने निकट भविष्यमा हेलम्बु, पाँचपोखरी, इन्द्रावती, मण्डन देउपुर र शंकरापुर नगरपालिकासम्म सेवा विस्तार गर्ने योजना रहेको छ। उक्त सेवाको सुरुआतसँगै मेलम्ची तथा आसपासका बासिन्दालाई सहज, सुरक्षित र वातावरणमैत्री यातायात सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ।







